×

माग्ने बुढाको जीवनशैली : न मीठोमसिनो खाना, न सुकिला–मुकिला लुगा


माग्ने बुढा’ अर्थात केदार घिमिरेसँग के छैन ? खुट्टा तन्काएर आरमसाथ बस्नका लागि काठमाडौंमा तीन तलाको घर छ । निर्धक्क सुविस्तासँग हिँडडुल गर्न गाडी छ । लोभलाग्दो ख्याती छ । सुखी परिवार छ । सबैथोक छ । हिजो कहाँ त्यस्तो थियो ?

उनीसँग दुःख र अभावको चाङ थियो । सडक पेटीमा टीका, नेलपोलिस, काइयो बेच्दै हिँड्थे । कलंकीको त्यो सडक पेटी, जहाँ उनी गरिबीसँग साँझ–विहान कुस्ती खेल्थे । धुलो र धुँवा सहदै ग्राहक कुर्थे । तर, उनलाई त्यहाँ पनि सुविस्तासँग गरिखान कसले दिने ?

 


नगरप्रहरीले लखेट्यो ।

ऋणपान गरेर टेम्पो किने । काठमाडौंको सडक र गल्लीहरुमा ट्याम्पो कुदाए । तर, केही बर्ष नपुग्दै त्यस्तो ट्याम्पो हटाइने भयो ।

एउटा सानो सटर लिएर विद्युतिय सामाग्री बेच्न बसे । जेनतेन जीवन चलेकै थियो । तर, सडक बढाउने भन्दै सटर भत्काइयो । यसरी जे गरेपनि उनलाई लखेट्न छाडेन । त्यो भाग्यले लखेटेको थियो वा नियतीले ? उनी बुझ्न सक्दैनन् । बुझ्न के मात्र सक्छन् भने, त्यसरी नलखेटिएका भए माग्ने बुढा आज यो मोडसम्म आइपुग्ने थिएनन् ।

केही उपाय नलागेपछि उनी रसरंगमा लागेका थिए । संयोगले रेडियो नेपाल पुगेका उनले नाटकमा आफ्नो आवाज दिन पाए । उनी सानोतिनो रेडियो नाटकमा अभिनय गर्न थाले । व्यापर व्यवसाय थन्कियो । कलाकारिता तंग्रियो । उनी कलाकार भए । माग्ने बुढा भए । उनै माग्ने बुढाले राजधानीमा तीन तले भवन ठड्यायो ।

हिजो र आजको अवस्था उस्तै छैन । तर, माग्ने बुढा उस्तै छन् । साधरण ।

उनको जीवनशैली कस्तो छ ? दिनचर्या कस्तो छ ? पहिरन, खानपान कस्तो छ ? अनलाइनखबरसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘एकदम तल्लो लेभलबाट आएको मान्छे हुँ । त्यहि भएर नर्मल जीवन छ । सामान्य, अरुको जस्तै ।’ उनलाई न लाउनेको सौख छ, न खानेको । एकसरो लुगाले आङ ढाक्न पाए पुग्छ, दुई छाक दालभात भए मनग्ये ।

१० बजेसम्म सुत्ने

बिहान १० बजे उठ्ने, एकसरो मुख पखाल्ने, जनै समातेर मान्त्रोचारण गर्ने, तातो भात खाने, दिनभर काममा निस्कने, साँझ फर्केर धूपवाती बाल्ने, व्यायाम गर्ने, प्राणायाम गर्ने, दालभात खाने, सुत्ने । समान्य दिनमा उनी यसैगरी बिताइदिन्छन् ।

चिरिच्याट्ट बन्नु छैन

लुगा ब्रान्डेड चाहिएन । महंगो पनि चाहिएन । ‘आफुलाई कस्तोले सुहाउँछ भन्ने थाहा छैन’ उनी भन्छन् । लत्ताकपडा आफै किन्दैनन् पनि । घर–परिवारले जस्तो ल्याइदिन्छ, चित्त बुझाउँछन् । ‘गुनासो गर्नका लागि या आफ्नै जाँगर हुनुप¥यो, या त फेसनबारे जान्नु प¥यो । मसँग दुइटै कुरा छैन’ भन्दै उनी मस्त हाँसे ।

तक्मे बुढा अर्थात विल्सन बिक्रम राई भेट्दै पिच्छे भन्छन्, ‘काका यस्तो लगाउनु, यसरी मिलाउनु न ।’ छोराछोरीले पनि ‘किन यस्तो लगाएको’ भन्दै सुधारको चेतावनी दिन्छन् । तर, उनले टेरपुच्छर लगाए पो ?

मीठो–मसिनो चहिँदैन

अक्सर भात त्यही हुन्छ, जो सामान्य भान्सामा पाक्छ । अर्थात्, दाल, भात, तरकारी, अचार । खानपानमा माग्ने बुढाको आफ्नै ‘स्टाइल’ छ । जस्तो,

उनी सुरुमा पस्किएको भात दोस्रो पटक थप्दैनन् । भातमा कहिल्यै गुनासो गर्दैनन् । भात यति छिटो निल्छन्, अरुले आधा खान भ्याएकै हुँदैनन् ।

थाल छिटो रित्याउने प्रवृत्तिले कहिले कहिं अप्ठ्यारो पार्छ । खासगरी सार्वजनिक भोजमा । ‘मलाई बिस्तारै चपाएर वा थोरै थोरै खान आउँदैन’ माग्ने बुढा भन्छन्, ‘त्यही भएर अरु साथीभाई वा कलाकारको माझ खानुप¥यो भने अलि कुनातिर बस्छु ।’

माग्ने बुढाको जिब्रोले मीठो–मसिनो खोज्दैन । नुन र रोटी मात्रै भएपनि मन अघाउँछ । तरकारीमा नुन चर्को भयो भने, पानी घोलेर पनि काम चलाउँछन् । ‘खाने कुरामा म साह्रै सजिलो मान्छे’ यति भनिसकेपछि उनले अघिल्तिरको एक टुक्रा स्याउ टिपेर चपाए ।

सम्बन्धित खवर