×

बेलायतमा कोरोना : एक चिनियाँबाट भित्रियो, डढेलोझैं फैलियो


म बेलायतमा बस्दै आएकी र यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्दै आएकी हुनाले बेलायतका बिरामीहरुमा कोरोनाको प्रभाव कसरी परिरहेको छ भन्ने कुरा नजिकबाट अनुभव गर्न पाएकी छु ।

यहाँको ‘ब्रिटिस फरेन पोलिसी ग्रुप’ को आधिकारिक तथ्याङ्क अनुसार जनवरीको अन्त्यतिर बेलायतमा कोरोना भाइरस संक्रमणको पहिलो ‘केस’ भेटिएको थियो । यसरी संक्रमित हुने व्यक्ति बेलायतकै ‘योर्क’ शहरको ‘योर्क युनिभर्सिटी’ मा अध्ययन गर्ने एक चाइनिज विद्यार्थी थिए ।

 


जनवरीको अन्त्यबाट अप्रिलको ४ तारिखसम्म आइपुग्दा बेलायतमा ४० हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ हजारले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । यो महामारी डढेलोजस्तै भएर सल्किने क्रम जारी छ ।

कोरोना संक्रमित बिरामीहरुको सेवामा संसारभर खटिएका कयौं स्वास्थ्यकर्मीले पनि संक्रमणका कारण आफ्नो ज्यान गुमाइसकेका छन् । इटालीमा मात्र ५० जना डाक्टर र नर्सको मृत्यु भएको छ भने बेलायतमा भर्खरैमात्र पाँच जना डाक्टर तथा तीनजना नर्सहरुको मृत्यु भएको समाचार प्रकाशमा आएको छ ।

म आफैँ पनि स्वस्थ उपचारिका भएर बेलायतकै राष्ट्रिय स्वास्थ्य सेवामा काम गरिरहेकाले संक्रमित बिरामीहरुको सेवामा खट्दा–खट्दै डाक्टर तथा नर्सहरुको मृत्यु भएको खबर सुन्दा मेरो मनमा पनि मृत्युको भय सल्बलाउनु स्वाभाविक छ ।

मैले व्यक्तिगत हिसाबले मात्र हेर्ने हो भने म स्वास्थ्य उपचारिका भन्दा पहिले एक महिला हुँ, एक छोरी हुँ, एक श्रीमती हुँ, आमा हुँ, दिदी मात्र हुँ । मेरो प्राथमिकतामा पहिले म आफू र मेरो परिवार पर्न जान्छ । तर, स्वास्थ्य संस्थासँग आबद्ध भएर बिरामीको सेवा गर्ने सपथ खाएकी मलाई ‘म’ र ‘मेरा’ मात्र भन्न पाउने नैतिक तथा पेशागत छुट छैन । मैले ‘प्रोफेसनल इथिक्स’ भित्र रहेर काम गर्नैपर्ने हुन्छ ।

अझ यस्तो महामारीका बेलामा स्वास्थ्य सेवामा खटेका डाक्टर तथा नर्सहरुको ‘ड्युटी टू ट्रिट’ सामान्य अवस्थामाभन्दा अत्यधिक रहेको हुन्छ । त्यसमा पनि स्वास्थ्य सेवा एउटा कृतसंकल्प हो । जसमा बिरामीको रोगको प्रकार, उसको व्यक्तिगत, सामाजिक, आर्थिक, धार्मिकजस्ता कुनै पक्षमा पूर्वधारणा नराखी स्वास्थ्यसेवकले बिरामीलाई आवश्यक परेको कुनै पनि खण्डमा सेवा दिनैपर्छ । म पनि यही कृतसंकल्पमा बाँधिएर काम गरिरहेकी छु ।

‘एक्युट सर्जिकल’ वार्ड काम गरिरहेकी म गत जनवरीदेखि आँखा विभागमा कार्यरत छु । मैले सेवा पुर्‍याउने बिरामीहरुको संख्यामा ९० प्रतिशतभन्दा बढी ६० वर्ष माथिका छन् । यी बिरामीहरुलाई आँखामा दिइने विशेष इन्जेक्सनदेखि लिएर शल्यक्रिया र विभिन्न इन्फेक्सन जस्ता समस्यामा सेवा दिनुपर्छ ।

कोरोना भाइरसको अहिलेसम्मको संक्रमणलाई हेर्दा यसबाट सबैभन्दा बढी प्रभावित तथा मृत्यु हुनेमा ६० वर्षमाथिका वृद्धावृद्ध भएको चिकित्सा विज्ञानका साथै पब्लिक हेल्थ इङल्याण्डमा पनि जनाइएको छ ।

गत फेब्रुअरीको अन्त्यमा न्यु इङ्ल्याण्ड जर्नल अफ मेडिसिनले कोरोना संक्रमणका १०९९ बिरामीहरुमा उमेरको वर्गीकरण गरी गरेको अध्ययनले १५ वर्षदेखि ४९ वर्षका ६० प्रतिशत बिरामीमा रोगको अवस्था सामान्य र ५० वर्ष माथिकामा बढी गम्भीर भएको बताएको छ । हो, हरेक दिन म भने तिनै ६० वर्षभन्दा माथिका बिरामीहरुलाई सेवा पुर्‍‍याइरहेकी छु ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार कोरोना भाइरस विकसित हुने अवधि दुईदेखि १४ दिन हुन्छ । यसभित्र व्यक्ति कोरोनाको भाइरस सरेको दिनदेखि यसको लक्षणहरु देखिन थालेको समयावधि पर्छ । तर, डब्ल्युएचओका अनुसार कतिपयमा कोरोनाको संक्रमण भए पनि लक्षणहरु नदेखिनुका साथै बिरामी भएको महसुस पनि नहुनसक्छ ।

हालै, न्युयोर्क टाइम्सले पनि २५ प्रतिशत कोरोना संक्रमितहरु ‘लक्षण मुक्त’ भेटिएको तथ्य बाहिर ल्याएको छ । कुनै पनि लक्षण नदेखिएको व्यक्तिलाई कोरोनाले संक्रमण गरेको हो कि होइन भन्ने कुरा नाक र घाँटीबाट लिइएको ‘स्वाब’ परीक्षणबाट मात्र थाहा हुन्छ ।

मैले काम गर्ने क्षेत्रमा ‘एक्युट इलनेस’ भएका बिरामीहरु नआए पनि प्रायः जसोमा ‘अन्डरलाइन हेल्थ कन्डिसन’- मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, दम, तथा किड्नीसम्बन्धी दीर्घरोग भएकाहरु नै पर्छन् ।

अहिलेसम्मको तथ्याङ्कअनुसार यस वर्गमा पर्ने बिरामीहरुमा कोरोना संक्रमण र मृत्युको उच्च दर रहेको पाइएको छ । त्यसमा पनि कतिपय पाका उमेरका बिरामीले सामान्य लक्षणहरु देखिए पनि रुघाखोकी नै हो भनेर अस्पताल आइदिनाले पनि संक्रमणको जोखिम बढी छ ।

अझ कोरोनाको संक्रमण भएको तर लक्षण नदेखिएको बिरामी आएमा त्यसबाट अर्को बिरामी तथा स्वास्थ्यकर्मीमा सर्ने जोखिम अझ बढी हुन जान्छ ।

आँखाको बिरामीको उपचारमा संलग्न हुँदा बिरामीको श्वासप्रश्वासको अत्यन्तै नजिक पर्नुपर्ने हुन्छ । कोरोना भाइरस ‘रेस्पिरेरोटोरी ड्रपलेट्स’ को माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले पनि बिरामीलाई सेवा पुर्‍याउँदा अत्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने अवस्था छ ।

माथि मैले भनेकोजस्तो अवस्था हुँदाहुँदै पनि महामारीको बेला बिरामीलाई आवश्यक सेवा दिनुपर्ने हुन्छ । तसर्थः आँखाको उपचारमा आएका हरेक बिरामीलाई प्रवेशद्वारमै ज्वरो आएको छ कि छैन भनेर जाँच गरिन्छ । यदि बिरामीको शरीरको तापक्रम ३७ दशमलव ९ भन्दा माथि भएमा घरैमा ‘आइसोलेसन’ बस्ने सल्लाह दिएर तुरुन्तै घर फिर्ता पठाइन्छ ।

सामान्य रहेमा भने साबुन पानीले हात धुन लगाएर मात्र सम्बन्धित कोठा पठाई चाहिएको उपचार दिइन्छ। उपचारपछि पनि कोरोनाको संक्रमण फैलिनबाट रोक्न अस्पतालले अपनाएका विधिहरु लेखिएको लिफलेट बिरामीहरुलाई दिने गरिएको छ ।

नियमित रूपमा हात साबुन पानीले हात धुन सबैलाई प्रोत्साहन गरिएको छ । धेरैजसो अवस्थामा बिरामीलाई टेलिफोनबाट नै उनीहरुलाई चाहिने आवश्यक परामर्शको व्यवस्था पनि मिलाइएको छ। ताकि आकस्मिक केसलाई मात्र अस्पतालमा सुविधा दिन सकियोस् ।

बेलायतमा कोरोनाको संक्रमणलाई न्यून गर्न र धेरैभन्दा धेरैको ज्यानलाई जोखिममा पर्नबाट जोगाउन हामी स्वास्थ्यकर्मीहरु मात्र नभएर नीति निर्माणमा रहेका माथिल्लो तहका व्यक्तिदेखि लिएर बौद्धिक जमात, बिशेषज्ञ, सेना, प्रहरी, परोपकारी संघसंस्था, स्वयंसेवी र सम्पूर्ण बेलायती जनताले इमान्दारितापूर्वक उत्तिकै पहल गरिरहेका छन् ।

विद्यालय, विश्वविद्यालय बन्द छन् । ‘फ्रन्टलाइन’ मा बसेर काम गर्नेबाहेक अन्यलाई बाहिर आवत-जावत गर्न सीमित गरिएको छ । दैनिक प्रयोगका अत्यावश्यक सामग्री किन्न बाहिर जाने क्रमलाई पनि जतिसक्दो कम गर्न सरकारी निर्देशन दिइएको छ ।

सरकारी यातायातका साधनलाई पनि अत्यावश्यक आवत-जावतका लागि सीमित गरिएको छ । निजी तथा सरकारी क्षेत्रका अत्याधिक कामहरु सम्भव भएसम्म घरबाटै गर्न सरकारी निर्देशन छ ।

मानवीय अत्यावश्यक सेवा दिने खाद्यान्नका सुपर मार्केट र फार्मेसी बाहेक पुस्तकालय, बार, रेस्टुरेन्ट, सिनेमाघर, म्युजियम, सपिङ्ग मल इत्यादि बन्द छन् । यो संकटको समयमा भेटघाट, भोज–भतेर, पार्टी, उत्सव तथा मिष्ठान्न बनाएर रमाइलो गर्न बन्द भएको छ ।

दैनिक जीवनका अत्यावश्यक वस्तुहरुलाई संवेदनशील भई प्रयोग गर्न थालिएको छ । यहिलेको युवापुस्ताले बढवा दिँदै आएको ‘इन्जोय’ गर्ने पश्चिमा संस्कृति ठप्प भएको छ ।

यी माथिका भनिएका पूर्वप्रावधानहरु अपनाउँदाअपनाउँदै पनि बेलायतजस्तो विकसित देशमा पनि कोरोना भाइरसको संक्रमणले दैनिक सयौँको ज्यान गइरहेको छ । धेरैले आफन्तहरुलाई गुमाइरहेका छन् । मृत्यु हुनेहरुले प्राण त्याग्ने अवस्थामा पनि आफ्ना नजिककाहरुबाट सान्त्वनाका एक शब्द सुन्न नपाई अन्तिम श्वास लिइरहेका छन् । अस्पतालहरु युद्धभूमिजस्तै भएका छन् ।

कोरोनाका बिरामीलाई सेवा दिन अस्थायी अस्पतालहरु खुलिरहेका छन् । तर, व्यापार व्यवसाय बन्द भएका छन् । हजारौंले रोजगारी गुमाएको अवस्था छ भने कयौं‌लाई आर्थिक संकट परेको छ ।

यी सबैका बाबजुद सिङ्गो बेलायती जनता ‘भोलि’ को आशा लिएर एकापसमा सामाजिक दुरी राखी घरभित्र रहेर जीवन चलाउन तयार छन् ।

यस भाइरसको कुनै उपचार नभएकाले अहिलेको अवस्थामा सरकारले निर्देशन गरेका नियमहरुलाई इमान्दार भएर पालन गर्नु नै हरेक जिम्मेवार नागरिकको कर्तव्य भएको छ ।

नोवल कोरोना भाइरस (कोभिड १९) को पहिलो उपस्थिति गत नोभेम्बर महिनामा चीनको वुहानमा भएको थियो । यसको फैलने क्रम बढेपछि डिसेम्बर ३१ मा चाइनिज अधिकारीहरुले विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) लाई यसको आधिकारिक जानकारी गराएका थिए । जसलाई विश्व स्वास्थ संगठन डब्ल्युएचओले पछि गएर नयाँ रोगका रुपमा कोभिड-१९ नाम दियो ।

यो पङ्क्ति लेख्दासम्म यसको प्रकोप संसारभरका २०७ देशहरुमा फैलिसकेकोे विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको तथ्याङ्कले देखाएको छ ।

कोरोना भाइरसको विश्वव्यापी फैलावटलाई ध्यानमा राखेर विश्व स्वास्थ संगठन डब्ल्युएचओले १२ मार्चमा नै यसलाई महामारीको घोषणा गरेको थियो । अहिलेसम्म संसारभर १० लाखमाथिको जनसंख्यामा यो भाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ६० हजारभन्दा बढीको जनसंख्याले यसको प्रभावबाट ज्यानै गुमाइसकेका छन्, जुन हरेक घण्टा बढ्दो छ ।

सम्बन्धित खवर